स्पेन । लियोनल मेस्सी दुई खेलको प्रतिवन्ध पार गर्दै बुधबार राती मैदान उत्रिए । कोपा डेल रे फुटबलको अन्तिम १६ को भिडन्तमा उनले पुनः आफुलाई उत्कृष्ट सावित गरे र टीमलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याएका छन् ।
बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ । घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पछि परेको अवस्था उल्टाउँदै महत्वपूर्ण जित निकालेको हो ।
खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसको गोलबाट भालेकानोले अग्रता लियो । मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।
मेसिले मिडफिल्डबाट निकालेको बल जोर्डी अल्बाले फ्रेन्की डी जोङ्गलाई उपलब्ध गराउँदा भएको गोलबाट बार्सिलोनाले ८० औँ मिनेटमा अग्रता लियो र खेल आफ्नो पक्षमा पार्न सफल भयो ।