काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । निगमको कार्ययोजना अनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दुरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने योजना रहेको निगमले जनाएको छ ।
नजिकका सेक्टरमा समेत अहिले निगमले वाइडवडी जहाज प्रयोग गरिरहेको छ । निगमसँग अहिले दुई वटा न्यारोबडी र दुई वटा वाइडवडी जहाज छन् ।
दुई वटा मात्र न्यारोबडी जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतमा यात्रुको चाप नधान्ने भन्दै निगमले जहाज भाडामा लिनु परेको बताएको छ ।
भविष्यमा भैरहवा विमानस्थलबाट उडान गर्न समेत यी जहाज प्रयोग गरिने प्रवक्ता पौडेलले जानकारी दिए । सरकारबाट विभिन्न समयमा गठन भएका सुधार आयोगले जहाज थप्न दिएको सुझाव अनुसार पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । यी जहाज जुलाई २०२४ सम्म ल्याएर उडानमा लगाउने योजना रहेको समेत निगमले उल्लेख गरेको छ ।