दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग

काठमाडौं । दुई विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज छलफल भएको छ । बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय भएको नेताहरुले जनाएका छन् । यसअघि कांग्रेस पदाधिकारी बैठकले समेत संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको प्रस्तावअनुसार शनिबार दुई दलका नेताहरुबीच छलफल भएको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी थिए । जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भए । संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन दुबै दलका नेता सहमत रहेको नेताहरुले जनाएका छन् ।