पर्सा । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । उनीहरु घर फर्केका छन्। राससका अनुसार बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।
एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्। नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन्। नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए।