देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी

काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरु कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन सहमति भएका छन । सर्वोच्चको फैसलापछि सोमबार पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनको बैठक बसेको थियो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको हो । यो बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत सहभागी थिए ।

आजबाट भने उनी यो गठबन्धनमा रहने छैनन् । पार्टी एकताको प्रक्रियामा रहेको भन्दै अब आफु विपक्षी गठबन्धनमा रहनु उचित नहुने उनको भनाई छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । राष्ट्रपतिले मंगलबारसम्म उनलाई प्रधानमन्त्री बनाउनु पर्छ ।

यससँगै मंगलबार नै सानो मन्त्रीमण्डल गठन गर्ने तयारी समेत गठबन्धनको रहेको छ । सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको निष्कर्ष गठबन्धनले निकालेको हो । सकेसम्म एमालेलाई समेत समटेर सरकारको नेतृत्व गर्न देउवालाई नेताहरुले सुझाव दिएका छन् ।