काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् ।
माधव नेपाल पक्षका सांसदले भने विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई विश्वासको मत दिने सांसदका विषयमा भोली बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने जानकारी दिए ।
‘हामी प्रतिपक्षमा बस्छौं । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,’ नेता ज्ञवालीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने अनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिने साथीहरू एमालेमा रहनुहुन्न ।’
उनले माधव नेपालले एक्लै भएपनि विश्वासको मत दिने बताएको जानकारी दिए । प्रवक्ता ज्ञवालीले आज बिहान भएको भेटवार्तामा देउवाको प्रस्तावका पक्षमा एक्लै भएपनि मत हाल्ने कुरा गरेको बताए ।