काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद समाधानमा पहल थालेका छन् ।
उनले आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्दै अनिर्णयको बन्दी भएको पार्टीलाई निकास दिने प्रयास थालेका हुन् ।
११ पुसमा केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र वर्तमान कार्यसमितिको अवधि १ वर्ष लम्ब्याएपछि पौडेल र सिटौला बिच्किएका छन् ।
बीना परामर्श बहुमतको बलमा पेलेर निर्णय आएको भन्दै नेताद्धय समूहले अन्य बैठकहरुसमेत निरन्तर बहिष्कार गर्दै आएको छ ।
त्यसपछि यी नेताहरुले जिल्ला सभापतिहरुलाई काठमाडौं डाकेर निर्णय सच्याउन देउवामाथि दवाव समेत दिएका थिए ।
सभापति निवास बुढानिलकण्ठमा आइतबार साँझ सभापति देउवा, पौडेल र सिटौलाबीच छलफल भएको छ ।
पार्टी भित्रको आन्तरिक विवाद सहमतिकै आधारमा मिलाएर जाने विषयमा छलफल भएको बताइएको छ ।
आन्तरिक कलहका कारण कांग्रेसले प्रतिपक्षीको भूमिकामा समेत आफूलाई दरिलो रुपमा उभ्याउन सकेको छैन ।
नेकपा विवादले प्रतिनिधिसभा बैठक प्रभावित भइरहेका बेला कांग्रेसल दरो रुपमा यसका विरोध समेत गर्न सकेको छैन ।