देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचन भएको स्थानीय तहमा अधिकांश स्थानमा मतगणना जारी रहेको छ । सबै महानगरपालिका र उपमहानगरपालिकासहित देशभर मतगणना जारी रहँदा ठूला दलले अपेक्षित अग्रता लिएका छन् । अहिलेसम्म १५ स्थानीय तह जितेको कांग्रेस अग्रस्थानमा रहेको छ । एमाले र माओवादी केन्द्रले समान १२÷१२ स्थानमा जितेका छन् । एकिकृत समाजवादीले २ स्थानीय तहमा जित्दा अन्य दलले भने जितेका छैनन् ।

यस पटक देशभर स्वतन्त्र उम्मेदवारले भने ठूला दललाई टक्कर दिएको देखिएको छ । काठमाडौंमा बालेन शाहले एमालेका उम्मेदवारविरुद्ध दोब्बरको अग्रता बनाइसकेका छन् । धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरपालिकामा समेत स्वतन्त्र उम्मेवारको अग्रता रहेको छ । देशभर मतगणनाको काम भने निकै सुस्त भइरहेको छ ।

निर्वाचन आयोगले जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने बताएको थियो। सकेसम्म बढी मतगणना टोली गठन गर्दै छिटो गणना सक्न सघाउन आयोगले आइतवार दिउँसो एक विज्ञप्तिमार्फत् आग्रह गरेको छ। सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक उचालेर विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्नेू जस्ता काम भएको आयोगले जनाएकोछ ।

आयोगले राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई व्यवस्थित र अनुशासित रहन आग्रहु गर्दै तोकिएकै समयभित्र गणना सक्न सघाउन आग्रह गरेको छ। शुक्रवार १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो। तीमध्ये सप्तरी, कालीकोट र बझाङका केही केन्द्रहरूमा आइतवार मतदान भइरहेको आयोगले जनाएको छ। नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो ।