काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ ।
पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।
यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।