काठमाडौं । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन गृह मन्त्रालयले दुई लाख ९८ हजार ५७९ सुरक्षा जनशक्ति परिचालन गरेको जानकारी गराएको छ । तीमध्ये एक लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, नेपाल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी निर्वाचनमा खटिएका छन् । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको छ ।
नेपाली सेनाका हेलिकोप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तैनाथी अवस्थामा रहेको निजी क्षेत्रका हेलिकोप्टरलाई परिचालन गर्न तयारी हालतमा राखिएको छ । निर्वाचनमा साना हतियारको प्रयोग गर्ने र बम राखेर त्रास फैलाउन सक्ने भएकाले नेपाली सेनाले ९०३ स्थानमा बम डिस्पोजल टोलीलाई परिचालन गरेको छ । आवश्यकताअनुसार नेपाली सेनाको काठमाडौँमा रहेको बम डिस्पोजल टोलीसमेत परिचालन हुने सक्नेछ ।
नेपाली सेनासँग एक हजार ५० वटा बम डिस्पोजल टोली छन् । सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक पर्ने हातहतियार, सञ्चार सेट प्रदान गरिएको छ । निर्वाचनको सूचना सही समयमै लिन नेपाली सेनाले उपलब्ध गराएका ४० थान स्याटेलाइट फोन प्रयोग गरिएको छ । सम्पर्क हुन नसक्ने तथा संवेदनशील ठाउँमा सो फोनको प्रयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनको समयमा साना हातहतियारको दुरुपयोग गरी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत प्राप्त वैध १८५४ थान तथा १७१ थान अवैध हतियार सङ्कलन भएको छ ।