कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन्। गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए। अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केको बीबीसीले जनाएको छ । केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ। श्रीलङ्कालीहरूले उनको सरकारलाई श्रीलङ्काको इतिहासमा देखा परेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि दोषी मानेका छन्।
देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलङ्कामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो। राजपक्ष कोलम्बोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किँदा उनलाई सुरक्षा दिइएको थियो । खाद्यान्न र इन्धनको मूल्य अचाक्ली वृद्धि भएपछि एप्रिलमा त्यहाँ प्रदर्शन सुरु भएको थियो। सबै क्षेत्र र समुदायका लाखौँ मानिसहरू धेरै हदसम्म शान्तिपूर्ण ढङ्गले भएका प्रदर्शनका लागि भेला भएका थिए।
उनीहरूले राजपक्ष र प्रधानमन्त्री पदमा आसीन उनका दाजु महिन्दको राजीनामा माग गरेका थिए। मे महिनामा महिन्द राजपक्षले मे महिनामै पदबाट राजीनामा दिएका थिए। जुलाई महिनामा हजारौँ मानिसहरू गोटाबय राजपक्ष सरकारी निवासमा बलपूर्वक प्रवेश गरे। त्यसपछि राष्ट्रपति सैन्य विमानमा चढेर माल्दिभ्स पलायन भए। माल्दिभ्सबाट सिङ्गापुर गएर उनले त्यहीँबाट राजीनामा दिए।
राजपक्षको पलायन र पदत्यागले पुराना राजनीतिज्ञ रनिल विक्रमसिङ्घलाई राष्ट्रपति बन्ने अवसर दियो। महिन्द राजपक्षले राजीनामा दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका थिए। राजपक्ष परिवारको निकटताका कारण प्रदर्शकारीहरूले उनलाई पनि रुचाएका थिएनन् र उनको राजीनामा माग गरिएको थियो। यद्यपि राजपक्षले राजीनामा दिएपछि उनलाई संसद्ले राष्ट्रपति निर्वाचित गर्यो। सरकारले अब राजपक्षको सुरक्षा पनि सुनिश्चित गर्नुपर्नेछ। अन्य प्रदर्शनकारीहरूले राजपक्ष पुनः राजनीति वा सरकारमा प्रवेश गर्ने जुन कुनै प्रयासको विरोध गर्ने बताएका छन्।