दैनिक १० हजारमाथि कोरोना परीक्षण

काठमाडौं । सरकारले घोषणा गरेअनुसार शुक्रबार पहिलो पटक २४ घण्टा भित्र १० हजार भन्दा माथि व्यक्तिलाई कोरोना भाइरसको परीक्षण गरिएको छ । खासगरी काठमाडौं छिर्ने नाकामा मानिसहरुको पिसिआर रिर्पोट लिन थालेसँगै पिसिआर हुने मानिसको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ८६ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २२४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिए । काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५\१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३\३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २\२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एक\एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालमा संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । संक्रमितमध्ये १४ हजार ३९९ ले कोरोनालाई जित्नसफल भएका छन् । ५ हजार ३१६ जना अहिले पनि आइसोलेसनमा छन् ।