दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन पुरा भएको छ । अब यस स्थानबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न सकिने सम्भावनाबारे टुंगो लगाउन पुनः चिनियाँ प्राविधिकको टोली नेपाल आउने भएको छ । दैलेखको श्रीस्थान नाभिस्थानमा पेट्रोलियम पद्धार्थको अन्वेषण चीनले नै गरिसकेको छ । अब सो स्थानमा व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउने भएको हो । चिनियाँ प्राविधिक टोली चैत १९ मा नेपाल आउन लागेको हो ।

अन्वेषणका क्रममा तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएको छ । अब वास्तविक अध्ययन हुने र त्यस क्रममा पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम यस चरणमा गरिने भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको कुल चार सय वर्ग किलोमिटर भुभाग समेटेर सर्भे गरिसकेको छ । यसमादुल्लु नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई केन्द्रित गरिएको छ । यसबाहेक रचामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भुभाग समेटिएका छन् ।

२०७२ चैतमा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । २०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । अन्वेषणको खर्च चीनले बेहोर्ने सहमति भएको छ ।