दोलखा । कोरोना भाइरसको महामारीपछि बन्द गरिएको दोलखा भिमसेन मन्दिर अब सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । नेपालमा कोरोना भाइरसको उच्चतम महामारी केही नियन्त्रणमा आएसँगै यो मन्दिर दर्शन खुला गरिएको हो । नेपालमा सर्वाधिक भीड हुने मन्दिरमध्ये दोलखा भीमेश्वर मन्दिर पनि एक हो ।
कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन ११ दिनपछि सर्वसाधारणको दर्शनका लागि खुला भएको हो । दर्शन गर्न आजदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ । एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गर्ने निर्णय भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिकाले गरेका थिए ।
मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो । मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए पनि भित्री मुख्य मूलद्वार भने बन्द राखिने भएको छ । मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । दोलखाबजारमा वर्षभरि मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठलाई उदृत गर्दैनेपालको सरकारी समाचार समिति राससले जनाएको छ ।