काठमाडौं । नेपालमा प्राथमिकतामा रहेका मानिस भन्दा वृद्धवृद्धामा कोरोना खोपबारे उत्साह देखिएको छ । पहिलो चरणमा प्राथमिकताको पहिलो चरणमा रहेकाहरुले खोप लगाउन आनाकानी गरेका थिए । तर, दोस्रो चरणमा भने बिहिबारसम्म ८ लाख भन्दा बढी मानिसले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस चरणमा ६५ वर्ष भन्दा माथिका वृद्धवृद्धालाइर्ए खोप दिइएको छ ।
खोपले युवाको तुलनामा वृद्ध उमेरका नागरिकमा नकारात्मक असर समेत कम देखिएको छ । अहिलेसम्म कसैलाई पनि गम्भीर प्रकृतिको असर नदेखिएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणको अभियान २३ फागुनबाट सुरु भएको हो । बिहीबारसम्म ८ लाख २७ हजार ९ सय १७ जना वृद्धवृद्धाले खोप लगाएका छन् ।
यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६ गरी जम्मा ८ लाख २७ हजार ९ सय १७ खोप लगाइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।