काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए ।
उनले खोकना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई थप अध्ययन गरी प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् । बुधबारको छलफलमा सेनाले खोकनामा जग्गा अधिग्रहण र रुख कटानमा भएको ढिलाइबारे जानकारी गराएको थियो ।
यो आयोजना २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा बन्दैछ । कुल ७०.९७ किलोमिटर लामो यो आयोजना २०७४ सालमा सुरु भएको थियो । आयोजना चैत २०८३ मा सक्नुपर्ने लक्ष्य छ । आयोजनाको वित्तीय प्रगति ३९.७४ प्रतिशत छ ।