धनुषाको रुपैठामा निषेधाज्ञा ३० कात्तिकसम्म लम्ब्याइयो

जनकपुर । धनुषाको जनकपुरधाम उप महानगरपालिका, रुपैठामा आइतबार रातिसम्म जारी गरिएको निषेधाज्ञाको समय ३० कात्तिकसम्म लम्ब्याइएको छ । साम्प्रदायिक सद्भाव बिग्रिने जोखिम रहेको भन्दै यहाँ नारा जुलुस, हुलहुज्जत गर्न रोक लगाइएको हो । स्थानीय प्रशासनले जनकपुरधाम वडा २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई कात्तिक ३० गते राति १० बजेसम्म थपिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाएका छन् । पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी भएको छ ।

रुपैठामा छठकै दिनदेखि तनाव रहँदै आएको छ । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद भएको हो । विवादले शनिबार उग्र रुप लिएपछि निषेधाज्ञा आदेश जारी भएको हो ।