धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो ।

अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिर विधिबाट उपचार भइरहेको थियो । उता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएर धरान ल्याइएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएको अस्पतालले जनाएको छ । त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो ।