काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको हेलिकोप्टरको केही भाग नेपाली सेनाले फेला पारेको छ । धवलागिरीमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धवलागिरी आधार शिविरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको छ ।
एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको यो हेलिकोप्टर दुर्घटनामा मानवीय क्षति भने भएको थिएन । बिरामीलाई लिन त्यहाँ पुगेको हेलिकोप्टरको आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको थियो । चालक मात्र रहेका कारण उनी सकुसल रहन सफल भएका थिए । उनलाई अर्को हेलिकोप्टरले उद्धार गरेको थियो । हेलिकोप्टर नजिकै दुई मानव अवशेष समेत फेला परेको छ । मृतकको पहिचान खुलेको छैन ।