धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

सरस्वती न्यौपाने, रसुवा

परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको धैवङको कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान शिवले शिरमा वोकेर हिड्ने महाकाली देवीलाई स्थापना गरी गोसाईकुण्ड गएको जनविश्वास रहेको छ।

पछि सोही स्थानमा कालिका मन्दिर निर्माण गरि पूजा गर्न थाले । त्यस क्षेत्रलाई कालिका स्थान भनि नामाकरण गरियो भन्ने भनाई छ ।शिव भगवान बिषले आकुलव्याकुल भएर हालको गोसाईकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भईरहँदा त्रिशूलले ढुङ्गामा हानेपछि पानी निस्कियो । त्यसलाई नै त्रिशूल धारा भनि नामाकरण गरियो । सोही त्रिशुलधाराबाट वगेर बनेको पोखरीमा भगवान शिव डुवुल्की मारेर बिराजमान हुनुभयो । भगवानको पनि भगवान् शिवको बासस्थानको रूपमा रहेको यस कुण्डमा नुहाएमा पापवाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

यस स्थानमा आजभोली बाह्रै महिना भक्तजनहरू आउने गरेतापनि विषेश गरी जनैपूणिर्मा र दशहरामा ठुलो मेला लाग्दछ ।तर गत वर्षदेखि भने कोभिडका कारण मानिसहरू आवतजावत गरेका छैनन् ।
मेला लागेको बेला नेपालका बिभिन्न जिल्ला लगायत, भारतबाट समेत लाखौको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन। कुण्ड मार्गका ठुला ठुला ढुंङ्गाहरुमा बिभिन्न आकृतिहरु देखिन्छ। पदमार्गमा सरस्वती कुण्ड, भैरबकुण्डपछि गोसाईकुण्ड पर्दछ।भैरब कुण्डमा भने भक्तजनहरु दर्शन गर्न, जान नहुने मान्यता छ। टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निक्कै गहिरो भएको कारण कालो देखिएको हुनुपर्छ। तर यहाँ आजसम्म कोही पनि जाने गरेको पांईदैन। यहाँ रहेका कुण्डहरु मध्ये गोसाईकुण्ड नै सबैभन्दा ठुलो कुण्ड हो।

यसरी गोसाई कुण्ड र कालिकास्थानको महिमा युगौदेखि एकआपसमा जोडिदै आएको छ। धार्मिक मान्यता अनुसार गोसाई कुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाईकुण्ड (गोसाईनाथ) जाँदा यात्रा सहज हुने र भगवान खुसी हुने आस्था जनमानसमा रही आएको छ

धार्मिक आस्थाको केन्द्र गोसाईकुण्ड समुन्द्र सतहदेखि ४३८०मिटर अर्थात १४ हजार फिटको उचाईमा अवस्थित छ भने कुण्डको लम्बाइ र चौडाई करिव ३७० मिटर रहेको छ । गोसाईकुण्ड नेपालको दोश्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ। धेरैजसो स्वदेशी तथा बिदेशी विद्यार्थीहरु यस क्षेत्रमा अध्ययन तथा अन्बेषणका लागि पुग्ने गर्दछन। आफुलाई बाघको डमरु भनि अंग्रेजहरुलाई थरथर बनाउने नेपालका राष्ट्रिय बिभुति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईकुण्डमै आएर गरेका थिए। त्यसैले गोसाईकुण्डमा अहिले राष्ट्रिय बिभुति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको शालिक बनाईएको छ। यसै कारण स्वदेशी तथा बिदेशी पर्यटकहरु धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससंग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन।
यस क्षेत्रमा तामाङ्ग समुदायको बसोबास रहेको छ। तसर्थ तामाङ्ग समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ्ग संस्कृति अनुसार गोसाईकुण्ड मेलामा बिभिन्न लामा, झाँक्री नांच तथा तामाङ्ग सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।

तर यस स्थानमा गोले थरका मानिसहरु भने जादैनन किनभने पहिले गाले थर भएका दुई जना झाँक्रीका वुढावुढी गोसाईकुण्ड गएछन । वाटोमा पर्ने भैरव कुण्ड पुगेपछि बुढाले; “म कुण्डमा पस्छु तैले ठ्याङ्ग्रो वजाएर बस् ।जब म बाहिर निस्कन्छु तैले अछेता छर्किनु” भनेछन । बुढीले हुन्छ भनेपछि झाँक्री कुण्डमा पसेछ तर नागले वेरिएको अवस्थामा बाहिर निस्केपछि वुढी आत्तिएर बजाईरहेको ठ्याङग्रो वजाउन छोडेर अछेता छर्केछिन। त्यसपछि झाक्रिलाई सर्षले कुण्डमा नै तानेको भएर गोले थरका मानिसहरू भने गोसाइकुण्ड जादैनन् ।

यस कुण्डप्रति हिन्दूहरूको मात्र नभई बौद्ध धर्मावलम्बीले पनि व्यापक रूपमा आस्था राख्दछन् । पुरोहित टंकप्रसाद ढकालका अनुसार गोसाईकुण्डसंगै कालिका माईको समेत महिमा रहेकोले जनैपुर्मिमामा कुण्डको मेला लाग्दा गोसाईकुण्ड गएर फर्केर आएकाहरूका लागि कालिकामा दही खुवाउने चलन छ ।