काठमाडौं । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै केही समयअघि पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक)का तत्कालीन १० जना कर्मचारी थुनामुक्त भएका छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होविन्द बोगटीका अनुसार दैनिक हाजिरी जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम सिआइबीको हिरासतमा थिए। न्यौपाने प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेत थिए।
राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत प्रहरी हिरासतमा थिए।
बैंकरहरू थुनिएको कारण कर्मचारीको मनोबल गिरेको भन्दै बैंकहरूले थुनाबाहिर राखेर अनुसन्धान गर्नको लागि अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले समेत पहिले थुन्ने र पछि सुन्ने काम गरिएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रवक्ता बोगटीका अनुसार अनुसन्धान थप लम्बिने भएपछि उनीहरूलाई थुनामुक्त गरिएको हो। उनीहरूलाई गत फागुन १५ गते सिआइबीले पक्राउ गरी अनुसन्धान तथा छानबिनका लागि भन्दै थुनामा राखेको थियो। केही समयअघि धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै सञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक) का तत्कालीन १० जना कर्मचारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।
सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं आबद्ध चार कम्पनीलाई तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले ऋण दिएको विषयमा अनुसन्धानको क्रममा पक्राउ गरेको थियो। धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा १० जना पक्राउ परेका थिए।