काठमाडौं । नेपाली नागरिक बढी संख्यामा रहेका दुई मुलुक जापान र दक्षिण कोरियामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टी भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टी भएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेश गरेपछि परीक्षणमा ओमिक्रोन पुष्टी भएको हो ।
खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत यो भेरियन्ट उत्तिकै खतरनाक हुने बताइएको छ । कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । उता, जापानमा मंगलबार मात्र नयाँ भेरियन्ट पुष्टी भएको छ । जापानले हवाई उडानमा प्रतिवन्ध लगाएको छ । यसले नेपालबाट समेत आवागमन प्रभावित बनेको छ ।