काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ।
यसैगरी मोबाइल चार थान, सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ। बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।