- विकास विष्ट / न्यूयोर्क
“मलाई थाहा छ रोकिनु हुन्न कहिले फराकिलो त कहिले साँघुरो…”
हो यँहीबाट शुरू हुन्छ नदिया लहरको कबिताको दर्शन ! नदी, नदी भएर अस्तित्वमा रहदैन जब बगरमा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाहन्छिन् जो आफ्नो पहिचानलाई जिबित राख्न ।
बगर भएर उराठ जिन्दगी बिताउनेलाई आफ्नो शितल नदीको स्पर्शसंगै रंगीन जीवनको अनुभुती दिलाउँछिन् आफ्ना जबर्जस्त काब्य बर्षा मार्फत ।
पानीसँग उनको अनौठो संबन्ध छ, आकाशबाट झरे झरी, त्यही झरी बगेर नदी हुदै बिशाल भण्डारको आकारमा महासागर ! कस्तो चाहना उनको !
यति धेरै रुझ्न सकूँ
र, मेरो प्यास कसैले नदेखुन ।
तिर्खाएका प्यासहरु
यही बर्षाले मेटिदियोस्
चकमन्न रातमा चन्द्रमालाई साथ लिई कहाँ कहाँ खोजिन उनले तारालाई साक्षी राखेर रातभरि आकाश रोइरहँदा थाकेको शरीरसंगै भौतारिदै प्रेमीसंगको वियोगको बेदनालाई कवयत्रीले यति मिठो शब्दहारले “मेरो सपना” भन्ने कबितामा उनेकी छन् की यसले जो कोही पाठकलाई भाबुक बनाउँछ ।
आमा भन्ने शब्द नै काफी छ ममताको परिभाषाका लागि ।
यी २ अक्षर नै सबै हो ।
बाल्यावस्थामा मातृ वियोगको
कठिन पिडा कसलाई बोक्न सजिलो होला र ?
प्रकृतिका हरेक उपजहरुलाई आमाको कल्पना गरेर लेखिएको “मेरी आमा” भन्ने कबिता मार्मिक छ ।
अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।
शहरमा सुतेर गाउँ पुगेछु, मिठा सपना देख्दै शहर बस्ने नदियाको आफ्नो माटो प्रतिको अगाध माया प्रिय ताप्लेजुङ्ग कबितामा पोखेकी छन् ।
कैयौं पोतवारको प्रतिनिधित्व गरेको यो पोतवार कबिता गरिखाने श्रमजीबीमा समर्पित कथाको कबिता हो, सुख दुखमा सतीसाल झैँ ठडिएर अर्काको लागी जिबन जिउने !
पोल्टाभरि थिए होलान गुनासा तिम्रा पनि
आँसुका थोपाहरु मिले होलान कोशीमा ।
कोशी तिम्रो सुख दुखको साथी !
जिन्दगी निरासाको कालॊ बादल होइन आशाको क्षितिज पनि हो कल्पना कति रमाइलो र घमाइलो हुन्छ जब जानेपछि,
औशीका रातहरु एक्लै बित्छन मेरा
यस्ता काला रात नआइदिए हुन्थियो ।
जहाँ मैले हेर्ने जून र ताराहरु हुदैनन
जून एक्लो छैन त्यहा ताराहरु पनि छन
सबैभन्दा ठुलो मेरो मन छ त्यहाँ ।
म आफ्नै शरीरबाट बगेको रगतबाट म कसरि अछुत हुन सक्छु ? भन्दै सामाजिक कुरिती प्रति तिखो प्रहार गर्दछिन ” राजस्वला हुदा ” कबिता मार्फत ।
कुलतमा परेर आफ्नो जिबन बर्बाद गरेका दुर्व्यसनीको कथा बोकेको कबिता ” आत्मग्लानी” र ” माफ गरिदेउ ” मा मार्मिकता साथ् प्रस्तुत गरेकी छन् /
उही परमआनन्द प्यास जगाइरहेको
अकाट्य सत्य यदी हो भने सर्माउछौ किन ?
हटाएर ती सरमका पर्दाहरु
हराईरहुँ एक अर्काको न्यानो स्पर्शमा ।
पुगौं फेरी उत्कर्षको चरम बिन्दुमा
बुझ्यौ नि तिमीले ?
उनका कबिता मार्फत प्रकृती नै हो भने किन लुकाउनु छ र ब्रमाण्ड के प्रमाण होइन र मायाको ? यो उनको खुला सोचले पोखिएका यावत कबिता खुला पाना नै हुन् ।
रातो चुरा, धागो र टिका खोसिए
फेरी उही दोष र पोइ टोकुवा लाञ्छना ।
अनि बल्ल मासिक धर्म देखा पर्दछ
एक बिधुवाको मन पर्ने रंग बनेर ।
“मेरो प्रश्न ” कबिताका जबर्जस्त लाइन हुन् यिनी महिला हिसा, बालबिबाह, बिधवा प्रतिको सामाजिक नजरलाई अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।
५५ कबिताहरु समाबेश गरी संग्रहित गरिएको यो कबिता पठनीय र संग्रहनीय छ ।
नेपाली साहित्य जगतमा उदियमान यी सर्जक आफ्ना शसक्त सृजना मार्फत उदियमान होइन किर्तिमान कायम गर्न सफल छिन ।
“नदिया लहर” बाट छुटेको उनको साहित्यिक सफर महासागरको अटल यात्रासम्म जान सफल होस् भनी एउटा पाठकको नातले
मेरो शब्द थुङ्गा उनको ‘नदिया लहर’ मा अर्पण गरें ॥