नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

लण्डन\बीबीसी । यूकेकी महारानीले परम्परा तोड्दै लण्डन बाहिरस्थित कार्यालयमा देशको नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह गर्ने बकिङ्घम राजदरबारले जनाएको छ। नयाँ नियुक्त हुने प्रधानमन्त्री र पदबाट बाहिरिँदै गरेका बोरिस जोनसन यसअघिको परम्परा तोड्दै सेप्टेम्बर ६ मा महारानी एलिजाबेथ द्वितियासँगको भेटका निम्ति स्कटल्याण्डस्थित उनको निवासमा जाने भएका छन्।

आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका नयाँ प्रधानमन्त्रीहरूको औपचारिक नियुक्ति बकिङ्हम प्यालेसबाट नै गर्ने गरेकी थिइन्। नयाँ नियुक्त हुने प्रधानमन्त्रीको दैनिक र नियमित कामहरूको तालिकालाई निश्चितता प्रदान गर्न सजिलो होस् भनेर पूर्व जानकारी दिएरै यस्तो निर्णय लिइएको बुझिएको छ। सेप्टेम्बर ५ मा लिज ट्रस वा ऋषि सुनक मध्ये एक जना सत्ताधारी कन्जरभेटिम पार्टीको नेता चयन हुँदै छन्।

वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले त्यसको भोलिपल्ट महारानीसमक्ष उपस्थित भएर आफ्नो राजीनामा घोषणा गर्ने अनुमान गरिएको छ। त्यस्तो घोषणा लगत्तै महारानीबाट नयाँ प्रधानमन्त्री नियुक्त हुने परम्परा रहँदै आएको छ। बकिङ्घम प्यालेसले यसअघि नयाँ प्रधानमन्त्रीसँग भेट गर्न महारानीले बालमोरलको बसाईलाई रोकेर लण्डन आउने जनाएको थियो। यूकेमा नियुक्त हुन लागेका नयाँ प्रधानमन्त्री उनको ७० वर्षे शासनकालको १५ ‍औँ प्रधानमन्त्री हुनेछन्। महारानीलाई पछिल्लो केही महिनायता हिँडडुलमा समस्या भएको ठानिएको छ।

परम्परादेखि मनाइँदै आएको ग्रीष्मकालीन बिदाका लागि महारानी परिवार र पाहुनाहरू सहित स्कटल्याण्ड पुगेकी छिन्। उनी अगस्टबाट अक्टोबरसम्म त्यहाँ बस्ने गरेकी छन्। राष्ट्र प्रखुको हैसियतमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने जिम्मेवारी महारानीको हो, जस्ले महारानीको सरकार, हर म्याजेष्टिज् गभमन्ट, को नेतृत्व गर्छन् भन्ने प्रचलन छ।

महारानी भिक्टोरियाको शासनयता एक जना बाहेक हरेक प्रधानमन्त्रीको नियुक्ति समारोह लण्डनस्थित बकिङ्घम राजदरबारमा भएको संविधानविद् प्राध्यापक भर्नोन बग्दनोर बताउँछन्। अपवादको रूपमा हर्वट हेनरी आस्क्विथ भने सन् १९०८ मा राजा एडवर्ड सातौँबाट नियुक्ति लिनका लागि फ्रान्सको वियरित्स सहर पुगेका थिए।