काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।
यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौंबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।