काठमाडौं । दशैंमा घर जानेहरुलाई लक्षित गरि शुरु भएको अग्रिम टिकट नयाँ बसपार्कबाट १७ हजार टिकट मात्र जारी भएका छन् । व्यवसायीले टिकट सकिएको भन्दै रित्तो हात फर्काएसँगै यात्रु भने निरास बनेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेको तथ्यांक छ । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिएका थिए ।
घटस्थापनादेखि अष्टमीसम्म अग्रिम टिकट जारी भएको हो । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार अघिल्ला वर्षको जस्तो अग्रिम बस टिकट लिन यात्रुको चाप देखिएन । तर, केही पहाडी भेगमा भने यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।
काठमाडौंको नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।