नयाँ मन्त्रीले आज कार्यभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भई आएका मन्त्रीहरुले आज पदभार सम्हाल्ने कार्यक्रम छ । शुक्रबार राती अबेर मात्र सपथ खाएका कारण उनीहरु सो दिन कार्यालय जान पाएनन । शनिबार सार्वजनिक बिदा थियो ।

सोहीकारण आज उनीहरुले आज आआफ्नो मन्त्रालय सम्हाल्ने भएका हुन् । आइतबार उर्जा मन्त्रीले बिहानै मन्त्रालय पुगी कार्यभार ग्रहण गरिसकेका छन् । अन्य मन्त्रीले समेत छुट्टाछुट्टै समयमा कार्यभार सम्हाल्नेछन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ९ जना नयाँ मन्त्रीलाई नियुक्त गरेकी थिइन् । वर्तमान मन्त्रीपरिषद्का केही सदस्यको भने जिम्मेवारी हेरफेर भएको थियो ।

शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रालयमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश सिंह ठगुन्ना, वन तथा वातावरणमा प्रेमबहादुर आले, युवा तथा खेलकुदमा दावा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जुलीकुमारी महतोलाई नियुक्त भई जिम्मेवारी सम्हाल्दैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई नियुक्ति दिइएको छ ।