काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको हो।
अध्यावधिसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ। अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए।
आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात निर्वाचन आयोगमा पेश गरेका थिए।
आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन्। यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ।
अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए। पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन्।