नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । तर, जसपामा दुई धार देखिएपछि भने नयाँ सरकार गठनको प्रक्रिया जटिल बन्ने भएको छ ।

जसपामा महन्त ठाकुर पक्ष एमाले अध्यक्ष ओलीकै पक्षमा रहेको छ । तर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने कांग्रेस र माओवादी पक्षमा खुलेको छ । गत राती ठाकुरले एक विज्ञप्ती जारी गरि यो बारे स्पष्ट पारेका छन् ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् । देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि सरकार कामचलाउ भएको छ । राष्ट्रपतिले दलहरुलाई तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन आह्वान गरेकी छिन् । वर्तमान संसदमा बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्छ ।