लक्ष्मी श्रेष्ठ, न्युयोर्क
मध्य रातमा ऊ ब्युझिन्छ
देब्रे छाति छाम्छ, ढुकढुकी
एकनासले बढी रहन्छ
पसीना पसीनाले उसको शरिर
निथ्रुक्क भिजिसकेछ!
साईडको बट्टाबाट टिस्यु झिक्छ
निधार र घाँटीको पसीना पुच्छ
साईडको ग्लासको पानी
एक्कै स्वासमा घुट्क्याउँछ
सिरानीमा अडेस लगाएर बस्दै
लामो लामो स्वास फेर्छ!
उसले एउटा डरलाग्दो सपना पो देखेछ
सपनामा – मुखुण्डो लगाएका
राक्षसहरुले उसको आमालाई
जबरजस्ति घिच्याउँदै रहेछन्
राक्षसहरुबाट बचाउन ऊ बल लगाएर
आमाको फरियामा झुण्डिएर आफुतिर तान्दोरहेछ
राक्षसहरुले लुच्छ्दा-लुच्छ्दा शरिरमा
करंग मात्रै बाँकी रहेकी,
रुँदा-रुँदै आँखा भित्र गढेकी
आफुलाई बेसहारा महसुस गर्दै
थकित गलित उसकी आमा,
कपाल फिंजाएर चिच्याउँदै, कराउँदै
आफ्नो ज्यानको भिख माग्दै गर्दा पनि
ती मुखुण्डोधारीहरुले
आमालाई घिच्याउन नछोडेको देख्दा
उ रुँदै-कराउँदै गुहार माग्दैरहेछ!
मुखुण्डोधारीहरुले जबरजस्ति
उसको मुख बन्द गरिदिएछन्
आँखामा धारिलो सुईराले घोचिदिएछन्
सम्पूर्ण शरिरमा फलामका डण्डाहरु बज्रिएछन्
आमाको दशा देखेर उसको मन
छियाछिया भएछ
ऊ आफुलाई बिल्कुल निरीह ठान्दा-ठान्दै पनि
‘मेरी आमालाई कसैको हातमा नबेच’ भन्दै
आफ्नो घुँडा जमिनमा धसेर
रगताम्य हात जोड्दै
आँखाबाट बलिन्द्रधारा रगतको
आँसु खसाल्दै,
मुखुण्डोधारीहरुसँग
आमाको अस्तित्वको भिख माग्दै रहेछ
आमाको अस्मिताको भिख माग्दै रहेछ
आमाको स्वाधिनताको भिख माग्दै रहेछ !!