पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी त्यहाँ पुगेका थिए । मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए।
त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरेका थिए । मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टा सडक मार्गबाट जाने निर्णय लिएका थिए । गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी रोकियो ।
मोदी भ्रमणको विरोध गरिरहेका किसानले आन्दोलन गरेर सडक बन्द गराएका थिए । मोदीको सवारी १५\२० मिनेट त्यहाँ रोकिएको थियो । विशाल प्रदर्शनका कारण बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किएको समाचारमा उल्लेख छ । भातको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएको छ ।