नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटका खेलहरु आजबाट

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट सुरू हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट भने अगाडि नै चल्नेछ । प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुदैछन् । दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा र दुई खेल मुलपानी मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एनआरएनए नेपाल टिमले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

खेल बिहान ९ः१५ बजे सुरू हुनेछ। टियुमै दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ को सामना गर्नेछ। मुलपानी मैदानमा आजै हुने पहिलो खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ। सो मैदानमा दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ। प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएन नेपालको टोली गरी ११ टिमको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।