नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।
यो घटना छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको पश्चिमी क्षेत्रमा पर्ने ताहौआमा भएको हो । घटना र क्षतिका विस्तृत खुल्न बाँकि रहेको बताइएको छ । मानिसहरुलाई गोली हानेर मार्नुका साथै घरहरुमा आगजानी समेत गरिएको थियो । यो मुलुकमा गत साता मत्र आतङ्कवादीको आक्रमणमा ५८ जना सर्वसाधारणको मृत्यु भएको थियो । नाइजरमा हिंसा बढेको छ । चरम गरिबीबाट गुज्रिरहेको यस मुलुकमा विभिन्न आतंकवादी संगठन सक्रिय रहेका छन् ।