काठमाडौं एजेन्सी । नाइजेरियामा फिरौतीका लागि अवोध बालबालिकाको अपहरण गर्ने पुरानै शैली अनुसार थप १४० स्कुले बच्चाको अपहरण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार नाइजेरियाको काडुना राज्यमा यस्तो घटना भएको हो । यो सोमबारको घटना हो । यसअघि आइतबार समेत यहाँ ८ जनाको अपहरण भएको थियो । त्यहाका सरकारी अधिकारीले घटनाको पुष्टी गरेका छन् । आइतबार जारिया भन्ने स्थानमा राष्ट्रीय क्षयरोग एवम कुष्ठ रोग केन्द्रका आठ जनाको अपहरण भएको हो ।
सोमवार को जारियाबाट करिव ८० किलोमिटर दक्षिण पश्चिममा पर्ने काडुना शहर नजिकैको एक स्कूलबाट सामूहिक अपहरणको घटना आएको हो । मोटरसाइकलमा आएका दर्जनौं हतियारधारीले स्कुले विद्यार्थीलाई अपहरण गरेका छन् । प्रहरीका अनुसार स्कुलका सुरक्षागार्डलाई बन्धक बनाएर बच्चाको अपहरण भएको छ । यहाँ छात्राबास थियो । उनीहरुलाई जंगलतर्फ लगिएको छ । अपहरणकारीबाट एक महिला शिक्षकसहित २६ जना भने बच्न सफल भएका छन् । अपहरणमा परेका बच्चाको खोजीका लागि सेना परिचालन गरिएको छ ।