नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

File

नारायणगढ । करीव तीन वर्ष लगाएर गत वर्ष मात्र निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १७ किलो भन्ने स्थानमा सडक भासिएको छ । यसले सडक एकतर्फी मात्र खुलेको सडक शुक्रबार बिहान भासिएको हो । त्यसपछि यातायात एकतर्फी गरेर मर्मत थालिएको नेपालको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ ।

आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको बताइएको छ । यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको सरकारी अधिकारीले जनाएका छन् । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो।

१७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ। सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने बताइएको छ । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ।