काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।
गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।
त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ । रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान फुटाउन प्रयास गरिनेछ । यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिने भएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो ।
गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाउँबाट चट्टान काट्ने प्रयास गरिएको थियो । करिब ३० प्रतिशत चट्टान फुटाएपछि काम रोकिएको थियो । तुइन खोलामाथिको पहाडमा अनुमान गरेभन्दा कडा चट्टान भेटिएपछि आयोजना नियन्त्रित विस्फोट मार्फत पहाड फुटाउने विकल्पमा पुगेको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ ।
यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ । खहरे खोलाको एउटा पुल निर्माणधीन छ भने, तुइन खोलाको पुल निर्माण सुरु नै भएको छैन । खहरेको पुलको पनि स्लाब ढलानको काम १५ दिन भित्र नै सक्ने योजना छ । बीम ढलानको काम सकिसकेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो । प्याकेज २ अन्तर्गतका जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभानका आठ पुल बनिसकेका छन् ।
प्याकेज १ का २ पुल बन्न बाँकी छन्, चिसेञ्जी, काली, टोपे, न्याम्सी र रिग्दीखोलाका गरेर ५ पुल बनिसकेका छन् । प्याकेज–१ का पुलको लागत ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँ र प्याकेज–२ का पुलको ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ रहेको छ । यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भइसकेको तर पुलहरु साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि सबै पुलहरुलाई नयाँ बनाइएका हुन् ।
पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरका छन् । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । ठेक्काको म्याद पुस मसान्तमा सकिँदैछ । बाँकी रहेका दुई पुल बनाउन १ बर्ष म्याद थपका लागि ठेकेदार अनक कन्सस्ट्रक्सनले माग गरेको छ ।