नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने

काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको सडक खण्ड अब बन्द नहुने भएकोछ । आइतबारदेखि सडक बन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आइतबारबाट बन्द गरिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ ।

सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।