नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती

काठमाडौं । पहिरोका कारण मुग्लिङ्ग नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रु अलपत्र परेका छन् । पहिरो खुलाउन लामो समय लाग्ने प्रहरीको अनुमान छ । यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सोहीकारण बिहानैबाट गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ ।

त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारीको पहिरो पन्छाउन ४\५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ ।

यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।