नार्सिसिजम्

~ योगेश आदी

सर्वशक्तिमान शव्द प्रायश फिल्ममा खलनायकको स्कृप्टमा राखिएको हुन्छ । किनकि यो शव्दले दम्भ र अहंकार बोकेर बस्दछ । म, मेरो र मलाई बाहेकका बस्तुहरु गौण हुन् । ‘म मात्रै खास हुँ, अरु झ्यास् हुन्’ भन्ने भावना नै सरल भाषामा नार्सिसिजम् हो । नार्सिसस् भन्ने एक पश्चिमी दन्त्य कथाको पात्रबाट लिइएको शव्द भएपनि यो शव्द सबै भाषामा आगन्तुकको रुपमा प्रचलित छ । जसको नेपालीमा उल्था गर्दा अहमता / मबाद / आत्ममुग्ध हुन जान्छ । मेरो अनुभव, समझ, ज्ञान, प्राप्तिको तुलना अरुसँग हुनै सक्दैन । म जस्तो उम्दा कोही छैन भन्ने भावनाको शुरुवात नै नार्सिसिस्टिक व्यक्तित्वको बीज हो ।

वर्तमान विज्ञानले यसलाई रोगको संज्ञा दिएर Narcissist personality disorder (NPD) को नाम दिइएको छ । यसको थेरापि ध्यान र काउन्सेलिङबाट गराइन्छ । अहमबाद अर्थात नर्सिसिजम सयौं प्रकारका हुनसक्छ । गुगलले बिसौं प्रकारको चर्चा गरेतापनि यसको तहहरु (स्पेक्ट्रम) अटिजमको जस्तै अनगिन्ति हुन्छन् ।

सुन्दर घर र समाजको परिकल्पना गर्ने हो भने आफु र आफ्नो बालबच्चालाई नार्सिसिष्ट हुनबाट जोगाउनै पर्दछ । अरुलाई दुख दिएर र अरुको कष्टमा हास्ने रमाउने (सेडिष्ट) जत्तिकै घातक मानसिकता हो अहमता (नार्सिसिष्ट)। भगवान श्रीकृष्णले आत्मप्रशंसा आत्महत्या बराबर हो । भनेर कुरुक्षेत्रमा सम्झाएको घटनाले नै “म मात्रै सर्वोत्तम” भन्नु कति डरलाग्दो मानसिक अवस्था हो भन्ने बुझ्न सकिन्छ ।

नार्सिसिष्टले के गर्छ ?

उसले अरुलाई सानो देखाउने प्रयत्न गर्छ । त्यसको लागि अरुको अक्षमता, कुरुपता, कमजोरीलाई हतियार बनाएर पटक पटक प्रहार गर्छ । यस्तो व्यक्ति आफ्नो प्रशंसा हुने र गरिने अवस्थाको खोजीमा हुन्छ । आफु लाइम लाइटमा रहन अरुको भावनालाई सजिलै भुल्दछ । उस्लाई अरुको दुखले छुदैन । इम्पेथी शुन्य हुन्छ । नार्सिसिष्टमा बिनम्रता कम हुन्छ, उ हमेशा ठुलो स्वरले बोल्छ । अरुको सुन्नु परेको समयमा उसलाई गाह्रो हुन्छ ।

नार्सिसिजम के हो ?

यो आत्मविश्वासको पोखिएको रुप हो । ओभर कन्फिडेण्ट र नार्सिसिजम बीचको रेखा साह्रै पातलो र मसिनो हुन्छ ।आत्मविश्वास रहनु राम्रो तर अति हुनु नराम्रो भने जस्तै हो । जो मान्छे ‘मैले मात्रै सक्छु’ भनेर हिड्छ उसले बिस्तारै बीचको पर्खाल नाघेर नार्सिसिजमतर्फ जाँदैछ भन्ने बुझ्नुपर्छ ।
नार्सिसिजम एउटा घातक मानसिक अवस्था हो जसले व्यक्तिलाई एन्जाइटिको बाटो गरेर डिप्रेसनहुँदै आत्महत्यासम्म पुर्याउँछ । सबै समय एउटै हुँदैन । रेकर्डहरु तोडिरहन्छन् । सम्वन्ध पनि परिस्थिति, उमेर र वातावरले गर्दा परिवर्तनमुखी हुन्छ भन्ने डाउनफल उसले स्विकार्नै सक्दैन । मैले मलाई सोचेको जस्तो अरुले पनि सोच्नुपर्छ भन्ने भाव पनि महत्वपुर्ण नार्सिसिजमको प्रकार हो । म भएन भने केही हुँदैन भनेर आफ्नो अस्तित्वको बढावा घर वा कार्यक्षेत्रमा गर्व गर्नुपनि नार्सिसिजम हो ।

नार्सिसिजम कसमा कम वा हुँदैन ?

यो सानो बच्चामा हुँदैन किनकि उसले म भन्ने अस्तित्वको बोध गरेको हुँदैन । तँपाईले १/२ बर्षको बच्चालाई लिएर ऐना अगाडि जानुस् उसले तँपाईलाई मात्रै कहिले ऐनामा कहिले फर्केर सिधा हेरिरहन्छ किनकि उसलाई उसको स्वरुपको “यो म” भन्ने ज्ञात हुँदैन । बिस्तारै हामीले नामसँग उसलाई रिलेट गराउन खोज्छौं । फोटोसँग । यो तिम्रो भन्ने स्वामित्वसँग । सबै त्यागेर वा जगत थेग्न नसकेर हिडेको साधु, सन्त, सन्यासी वा ध्यानमार्गमा लाग्नेसँग कम हुन्छ । तर कुनै कुनै सन्त बनिसकेपछि प्रशंसा र चर्चाको कारण नार्सिसिष्ट देखिएका पनि छन् ।

सो कसरी नियन्त्रण गर्ने ?

यो मनोविज्ञान र मानसिक स्वास्थ्यसँग जोडिएको तत्व भएकोले उसको कारणहरु हेरेर काउन्सेलिङ शुरु गर्नु पर्छ । पश्चिमी सभ्यताका दार्शनिक सुकरातले भनेका छन् “मलाई थाहा छ, मलाई कम थाहा छ । धेरै कमलाई थाहा छ, उस्लाई कम थाहा छ ।” यो वाक्यले धेरैको अहंकारलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत गर्दछ । कज, इफेक्ट एण्ड कन्कलुजनको रुपरेखा देखाएर सबैको अस्तित्व स्विकार्न सिकाउनु पर्छ । धेरै सेलिब्रेटीहरु छिट्टै नार्सिसिष्टको बाटो भएर डिप्रेसनमा पुग्नुमा पनि नियन्त्रणको औजारको सम्पर्कमा नजानुले हो ।