काठमाडौं\एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले पहिलो पटक मंगलग्रहमा हेलिकोप्टर उडाउन सफल भएको छ । वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा हेलिकोप्टर उडाउन सफल भएका हुन् । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले यो हेलिकप्टर लिएर गएको हो ।
सोमबार पहिलो पटक मंगल ग्रहमा हेलिकोप्टरले उडान गरेको छ । नासाका अनुसार इन्जेन्युटी नामको उक्त हेलिकप्टरले ३९ सेकेन्ड उडान भरेको छ । यो हेलिकोप्टर १० फिटसम्म उचाइमा पुगेको छ । उडान क्षेत्रबाट २ सय फिट पर रहेको पर्सिभरेन्सको क्यामेराले इन्जेन्युटीको उडानको भिडिओ कैद गरेको छ ।
१.८ किलोग्राम तौल भएको हेलिकप्टर फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र राखिएको थियो । अत्यन्तै चिसो भूमि रहेको मंगलग्रहमा उपकरणको रक्षा गर्दै हेलिकोप्टरको सफल उडान गर्नुलाई वैज्ञानिकहरुले ठूलो सफलता मानेका छन् । यो उडानले मंगलग्रहको अनुसन्धानमा एक कोशेढुंगा थपेको वैज्ञानिहरुको भनाई छ ।
