काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना तथा तस्वीर प्राप्त गर्न सक्ने गरी ग्राउण्ड स्टेशन तयार पारेको छ ।
नाष्टका अनुसार पहिलो पटक यस्तो स्टेशन तयार भएसँगै अब अन्तरिक्षमा रहेको उक्त भू उपग्रहबाट सूचना र तस्वीरहरु प्राप्त गर्न सहज हुने भएको हो ।
अघिल्लो बिहीबारबाट संचलनमा आएको यो ग्राउण्ड स्टेशनले भूउपग्रहको अवस्थितिसहित उसले पठाएका सूचना तथा तस्वीरहरु ग्रहण गर्न थालेको बताइएको छ ।
रेडियो उपकरण तथा विभिन्न प्रकारका अत्याधुनिक सफ्टवेयरका माध्यमबाट भू उपग्रहले नेपालमा तथ्याङ्क पठाउने गर्छ ।
नेपाली स्याट–१ अहिले अन्तरिक्षमा रहेको छ । उसले एक दिनमा १५ देखि १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले उल्लेख गरेको छ ।
ग्राउण्ड स्टेशनबाट नेपालको सिधा आकाशमा आएका जुनसुकै भूउपग्रह वा नेपालसँग नजिक भएर गएका भूउपग्रहबारे पुरै जानकारी हुने बताइएको छ ।
नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नो भूउपग्रह ४ वैशाखमा जापानबाट प्रक्षेपण गरेको थियो ।