निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

काठमाडौं । निजी विद्यालयहरूले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले वर्षेनी भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।

विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीहरूलाई पनि हरेक वर्ष भर्ना शुल्क लिने गरेपछि महानगरले सूचनामार्फत सबैलाई कानुनी व्यवस्था सम्झाएको हो ।

नयाँ विद्यार्थीको हकमा एउटा विद्यार्थीको हकमा एक पटक मात्रै भर्ना शुल्क लिन पाइने महानगरले जनाएको छ । महानगरका अनुसार विद्यालयहरूले भर्ना शुल्क पनि जथाभावी लिन पाउने छैनन् । निजी विद्यालयहरूले भर्ना शुल्क लिँदा एक महिनाको मासिक शुल्कभन्दा बढी लिन नपाउने महानगरले जनाएको छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ मा विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको विद्यार्थी शुल्कको १ महिनाको भन्दा बढी लिन पाइने छैन भन्ने व्यवस्था छ । सोही निर्देशिकामा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन,’ महानगरद्धारा जारी सूचनामा भनिएको छ ।