निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र निधारमा कोरेका एमालेको भातृसंगठन युवा संघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी गरेको र काम गर्न नदिएको भन्दै विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्नुपरेको समेत बताए ।

सरकारविरुद्ध विपक्षी गठबन्धनका दलका भातृ सङ्गठनले चरणबद्ध आन्दोलन शुरु गरेसँगै सडकमा केपी ओलीको समर्थनमा जुलुस निकालिएको हो । सत्तारुढ दलबाट भएको यो हर्कतलाई भने धेरैले पंचायतकालिन शैलीको समर्थन भनेका छन् । आन्दोलनकारीले भने चारैतिरबाट घेराबन्दीमा परेका कारण प्रतिकारमा उत्रनु परेको बताएका छन् । प्रदर्शनकारीले चुच्चेनक्सा सहितको नेपालको झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो फोटो अंकित ब्यानर बोकेका थिए ।