न्युयोर्क
ढिलो दौडनुहोस् वा छिटो ! धेरै माईल्स दौडनुहोस् वा थोरै माईल्स ! तर नियमित दौडिने मानिसको अल्पायुमा मृत्यु हुने सम्भावना एकदमै कम हुने कुरा एउटा नयाँ अनुसन्धान बाहिर ल्याएको छ । यो नयाँ अनुसन्धान अष्ट्रेलिया, थाईल्याण्ड र फिनल्याण्डका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानपछि बाहिर ल्याईएको हो । नयाँ अनुसन्धानमा यस अगाडि अमेरिका, चिन, बेलायत र डेनमार्कले गरेका १४ वटा फरक फरक शारिरिक कृयाकलाप र मृत्युदर सम्बन्ध सम्बन्धि अनुसन्धानलाई आधार मान्दै गरिएको हो । अनुसन्धानकर्ताहरुले यस अगाडि गरिएका फरक फरक ६ वटा समुहका २ लाख ३० हजार मानिसहरु माथि अध्ययन गरेर नतिजा सार्वजनिक गरेको हो । यी ६ वटा समुहमा ५ बर्षदेखि ३५ बर्ष समुहका मानिसहरुलाई नियमित दौड लगायतका शारिरिक कृयाकलाप गर्ने र नगर्नेहरु बीच गरिएको थियो ।
अध्ययनमा सधैं दौडने भन्दा नदौडने तर अन्य शारिरिक कृयाकलाप नियमित गर्ने वा अन्य शारिरिक ब्यायाम नियमित गर्ने अनि महिनामा एक दिन चाँहि धाबक कै रुपमा दौडने गरेकाहरु मध्ये सामान्य फरक देखिएको अध्ययनले बताएको छ । अध्यननका क्रममा २५ हजार ९ सय ५१ मानिसको मृत्यु भएको थियो । मृत्यु भएकाहरु मध्ये कहिल्यै नदौडनेहरु मध्ये धेरै वा थोरै दौडनेहरुको अल्पायुमा मृत्यु २७ प्रतिशतले कम हुने गरेको पाईयो । अल्पायुमा मृत्यु हुनेमा पनि नियमित र अनियमित दौडनेहरुमा कहिल्यै नदौडनेहरु भन्दा हृदय रोग र क्यान्सरका कारण मृत्युमा ३० प्रतिशतसम्म कम देखिएको अध्ययनले बताएको छ ।
अनुसन्धानमा सहभागी भएका अस्ट्रेलियास्थित भिक्टोरिया युभर्सिटीका प्राध्यापक जेल्को पेडिसिकका अनुसार हप्तामा एक पटक ५० मिनेट भन्दा कम मात्र दौडिए पनि शारिरको लागि निकै नै फाईदा पुग्दछ तर त्यो भन्दा धेरै दौडिनेहरुलाई हामीले निरुत्साहित गर्नु हुँदैन । हाम्रो प्रयोगले शारिरिकरुपमा निस्कृय ब्यक्तीहरुलाई दौडन उत्साहित गर्दछ भने पहिलेदेखि दौडिरहेकाहरुलाई अझै सकृय बनाउने छ ।
विश्व स्वास्थ संगठनका अनुसार विश्वमा हरेक बर्ष करिब ३२ लाख मानिसको मृत्यु पर्याप्त शारिरिक कृयाकलापको अभावका कारण हुने गरेको छ । विश्व स्वास्थ संगठनका अनुसार १८ देखि ६४ बर्ष उमेरका मानिसले हप्तामा १५० मिनेट सामान्य ब्यायाम र ७५ मिनेट कडा ब्यायाम गर्नु पर्ने बताएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)