सम्भ्रान्त आधुनिक सहरको बीचमा,
एक्लै ठिंग उभिएर चारैतिर नियाल्छु
मानव आकृतिको तलतल लागेर,
भव्य सुन्दर घरहरु अटालिका समेत,
अनेक कलाकृति, सभ्यताका प्रतीक !
वैभवताले भरिपूर्ण यस सहरमा-
सबै कुराहरु यथावत् छन्- परिपूर्ण !
तर, एउटै पनि छैनन् मानव आकृति !
लाग्छ- सहर मानिस विहीन छ !
चोक, गल्ली अनि स्ट्रिटहरु चाहार्दा पनि,
भेटिदैनन् किन जीउँदा प्राणीहरु?
कहीं दुर क्षितिजमा मेला लागेको छ कि?
अथवा सहरभरी अकाल महामारी फैलिएर-
कतै, सबैजनहरु आर्यघाट पो लागे कि !
कही यो भूतको सहर पो रहेछ कि !
किंवा सपनाको लहर पुगें- म
स्वप्न महलयुक्त स्मशान पो हो कि?
हाँस्न मन लागेर आउँछ
एक्लै हाँस्न पनि सक्दिन म !
पागलपनको मनोभ्रान्ति सादृष्य !
निर्जन सहर ठिंग उभिएको छ- अगाडि
मानवले बनाएको- मानव नबस्ने सहर!
किनकि यहाँ मानव आकृति देखिदैन
त्यसैले, लाग्छ यो एउटा निर्जन सहर हो !
निर्जन सहरमा – एक्लो म
टेक्सस, अमेरिका