काठमाडौं । वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन हो । आज राति १२ बजेबाट मौनअवधि सुरू हुँदैछ ।
यसैबीच आज प्रचारप्रसारको अन्तिम दिन चितवनमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी आमनेसामने हुँदैछन् । गठबन्धन र रास्वपाको चुनावी सभा एकै समयमा परेको छ ।
रास्वपाले दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयअगाडि चुनावी सभा आयोजना गरेको छ । सभालाई चितवन–२ का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, दिउसो ३ बजे नै गठबन्धनले पनि चुनावी सभा आयोजना गरेको छ । गठबन्धनले कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा आमसभा आयोजना गरेको छ ।
सभालाई माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नेछन् । आजको सभालाई गठबन्धन र रास्वपाको शक्ति प्रदर्शनको रूपमासमेत हेरिएको छ ।