निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो । आयोगमा बिहीवार पत्रकार सम्मेलन गर्दै आयोगले देशभर २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको उनको भनाइ छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिए ।

यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सहप्रवक्ता अर्यालले बताए । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ । 

देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नाै सय मतदान केन्द्रमा भाेलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

चुनावबाट सात सय ५३ पालिकाका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् ।