निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धित निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम भएको छ । बयान र सीसीटीभी फुटेजको प्रमाणबाट समेत यसमा कुनै पुष्टी हुने आधार नभेटिएपछि छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन लेख्न थाल्दैछ । अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको हो । समितिले शर्माको टेलिफोन डिटेल भने हेर्ने छैन । यसले व्यक्तिगत गोपनीयताको हनन् हुने भन्दै समिति अब प्रतिवेदन लेखनमा लाग्ने भएको छ ।

समितिले सार्वजनिक स्थानमा गरेका बदमासीका प्रमाण सुरक्षित राख्न त्यहाँको निरीक्षण प्रणाली बलियो बनाउने गरी प्रतिवेदन लेख्ने समेत तयारी गरेको छ । समिति गठन भएको आज १६ औं दिन पुगेको छ । पहिलो पटक १० दिनको समय पाएको समितिले पुनः ७ दिनको समय पाएको थियो । समितिले निर्धारित समयमै प्रतिवेदन लेखिसक्ने बताएको छ ।

समितिले शर्मासहित अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव लगायत व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। उक्त अनुसन्धान र सोधपुछबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए-नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनमा अघि बढेको हो। आफुमाथि छानविन गर्न समिति बनेपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए ।