काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ५ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । सडक र हवाई मार्गबाट उक्त संख्यामा मानिसहरु बाहिरिसकेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।
कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
सरकारले शुरुमा ७ दिन निषेधाज्ञा गर्ने भनेपछि यसलाई दुई साता पुर्याउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यस पटक समेत गत सालजस्तै निषेधाज्ञा लम्बिने डरसँगै सर्वसाधारणले काठमाडौं छाडिरहेका छन् । उनीहरुका लागि आज एक दिनको समय रहेको छ ।
देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको छ । गोरखापत्रले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई उदृत गर्दै लेखेअनुसार मङ्गलबार दशैं तिहारमा जस्तै गरी भीड बढेको छ ।
नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।